दैलेख – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ काफलगैरा निवासी सुरेन्द्र रावतमाथि ज्यानै जाने गरी कुटपिट भएको छ।
घटना असोज १८ गते राति भएको हो। ठाँटीकाँध गाउँपालिका–३ माझखर्कका चिन ब. शाही र उनका परिवारका सदस्यहरूले रावतलाई समातेर सामूहिक रूपमा कुटपिट गरेको पीडित पक्षले बताएका छन्। शाहीले आफ्ना तीन छोरासहित अन्य व्यक्तिहरूलाई लगाएर ज्यान मार्नेसम्मको आदेश दिएर आक्रमण गराएको आरोप छ।
घटनापछि रावतले दैलेख जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले नलिएको र अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता गर्न निर्देशन दिएको स्थानीयले बताए। अभद्र व्यवहार सम्बन्धि जाहेरी दर्ता भएसि प्रहरीले मुद्दा हेर्ने प्रहरी प्रमुखको आदेशपछि मात्र जाहेरी दर्ता भएको पीडित पक्षको भनाइ छ।
प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएपनि बाँकी चार जना गाउँमै खुलेआम हिँडिरहेको स्थानीयको आरोप छ। “यस्ता घटनालाई सामान्य रूपमा लिनाले फेरि नदोहोर्याउने ग्यारेन्टी हुँदैन,” एक स्थानीयले भने।
स्थानीयवासीले घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्