सुर्खेत । गुर्भाकोट नगरपालिका–६ मा अवस्थित पारथरी सामुदायिक वन उपभोक्ता समूहको १०औं वार्षिक साधारण सभा आज भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चन्द्र प्रकाश रोकायाले गर्नुभएको थियो भने गुर्भाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोविन्द ओली प्रमुख अतिथि रहनु भएको थियो। साथै, सल्लाहकार सदस्य जीत बहादुर ओली, सल्लाहकार समिति संयोजक कुल बहादुर ओली लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा अध्यक्ष रोकायाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०७६ सालदेखि हालसम्म संस्थाको आन्तरिक आम्दानी रु ८ लाख ५० हजार रहेको जानकारी दिनुभयो। सो अवधिमा रु ६ लाख ९७ हजार खर्च भई रु १ लाख ५३ हजार बचत रहेको बताइयो। त्यस्तै, बाह्य स्रोतबाट रु २२ लाख बराबरका योजना सफलतापूर्वक सम्पन्न गरिएको विवरण पनि प्रस्तुत गरियो।
वक्ताहरूले सामुदायिक वनले स्थानीय विकास, वातावरण संरक्षण र जनजीवनमा पुर्याएको योगदानको प्रशंसा गर्दै अझ बढी आयमूलक कार्यक्रम र दिगो व्यवस्थापन गर्न सुझाव दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष गोविन्द ओलीले सामुदायिक वनसँग सहकार्य गर्दै आयआर्जनमूलक तथा वातावरणमैत्री कार्यक्रम सञ्चालनमा वडा सरकार सधैं सकारात्मक रहने बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
सोही अवसरमा साधारण सभाले चन्द्र प्रकाश रोकायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रमको अन्त्यमा पारथरी सामुदायिक वन उपभोक्ता समूहका तर्फबाट सभामा उपस्थित सबै उपभोक्ताप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।


प्रतिक्रिया दिनुहोस्