गुर्भाकोट, सुर्खेत , कार्तिक-२
गुर्भाकोटमा जारी क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेलहरूमा गुर्भाकोट क्लब र भेरीगङ्गा क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनल खेलमा गुर्भाकोट क्लबले गुर्भाकोट–८ क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। टस जितेर पहिले ब्याटिङको निम्तो पाएको गुर्भाकोट क्लबले निर्धारित १० ओभरमा ११२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। जवाफमा ब्याटिङमा उत्रिएको गुर्भाकोट–८ क्रिकेट क्लब ६० रनमै समेटिँदा गुर्भाकोट क्लबले ५२ रनको फराकिलो जित हासिल गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गुर्भाकोट क्लबका कप्तान तिलक सोनी सुनार म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा भेरीगङ्गा क्रिकेट क्लबले देउति क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। पहिले ब्याटिङ गरेको भेरीगङ्गा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीमाथि ६६ रनको विजयी अन्तर कायम गर्यो। खेलमा बल र ब्याट दुवैमा उल्लेखनीय योगदान दिएका भेरीगङ्गा क्लबका रमित जिसी म्यान अफ द म्याच घोषित भए।
अब फाइनल खेल भोलि बिहान गुर्भाकोट क्लब र भेरीगङ्गा क्लबबीच हुने भएको छ, जसले प्रतियोगिताको उपाधि विजेता टुङ्गो लगाउनेछ।


प्रतिक्रिया दिनुहोस्