सुर्खेत, भदौ १३ ।
सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र सामाजिक नैतिकता विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा सुर्खेत प्रहरीले होटल सञ्चालकसहित १३ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भदौ १३ गते विरेन्द्रनगर नगरपालिका–६ मा सञ्चालनमा रहेका विभिन्न होटल तथा रेस्टुरेन्टमा विशेष प्रहरी टोली खटाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । सुरुवातीमा १० जना पक्राउ परेका थिए भने थप ३ जना संलग्न भएको पुष्टि भएपछि हालसम्म नियन्त्रणमा पर्नेहरूको संख्या १३ पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमध्ये दैलेख नौमुले गाउँपालिका–१ निवासी ५२ वर्षीय भक्तिराम जैशी भुमिका रेस्टुरेन्ट एण्ड लजका सञ्चालक हुन् । त्यस्तै, जाजरकोट जुनिचाँदे गाउँपालिका–९ निवासी ३४ वर्षीया देविका शाही सुरेश होटलकी सञ्चालक रहेको र विरेन्द्रनगर–६ निवासी २७ वर्षीय कृष्णबहादुर घिमिरे घिमिरे होटल सञ्चालन गर्दै आएका थिए ।
यस्तै, विरेन्द्रनगर–३ का २६ वर्षीय कवि प्रसाद पौडेल, विरेन्द्रनगर–६ की २६ वर्षीया दिक्षा ठकुरी, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय मनचन्द्र सार्की, त्यही स्थानका १९ वर्षीय मनरुप सार्की र कृष्ण सार्की, दैलेख गुुराँस गाउँपालिका–३ की १९ वर्षीया हिमा बुढा क्षेत्री, बराहाताल गाउँपालिका–४ की २१ वर्षीया अमृता मगर, अछाम साँफेवगर नगरपालिका–४ का ४५ वर्षीय लोकबहादुर दियाली, विरेन्द्रनगर–१० की १७ वर्षीया रितु थापा र कालिकोट सानीत्रीवेणी गाउँपालिका–७ का १५ वर्षीय सञ्जु विश्वकर्मा पनि पक्राउ परेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान थालेको जनाएको छ । प्रहरीले उनीहरूको गतिविधि सार्वजनिक हित, स्वास्थ्य सुरक्षामा खतरा पुर्याउने खालको रहेको भन्दै आवश्यक कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले होटल व्यवसायलाई सार्वजनिक आचरण र स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले यस किसिमका गतिविधिमा संलग्न हुनेलाई कानुनअनुसार कडाइका साथ कारबाही गर्ने जनाएको छ । साथै, यस्ता अनुचित कार्य रोकथामका लागि अन्य होटल तथा रेस्टुरेन्टहरूलाई पनि सचेत रहन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्