२०८२ कात्तिक ११ , मंगलबार

नेपालले बनायो २११ रनको पहाड, सामोआ मात्र ८७ रनमा समेटिँदा १२४ रनको जित



ओमान, असोज ३१,

टि२० विश्वकप एसिया–ईएपी क्वालिफायरअन्तर्गत आज ओमानमा सम्पन्न खेलमा नेपालले सामोआला १२४ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल तयार पार्‍यो। नेपाली ब्याट्सम्यानहरूले सुरुदेखि नै आक्रमक प्रदर्शन गरे। ओपनर आसिफ शेखले ४१ बलमा ६९ रन प्रहार गर्दै टीमको जितको आधार तयार पारे। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन, कुशल भुर्तेलले १७ रन, दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रन र अन्त्यतिर लोकेश बमले मात्र १२ बलमा ३९ रनको तुफानी इनिङ खेल्दै स्कोर २११ पुर्‍याए।

जवाफी ब्याटिङमा सामोआ सुरुदेखि नै दबाबमा रह्यो। नेपालका बलरहरूले कडाइका साथ बलिङ गर्दै विपक्षी ब्याट्सम्यानहरूलाई रन बनाउनै दिएनन्। सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा ८७ रन मात्रै बनाउन सक्यो।

नेपालका स्पिनर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने, करण केसी र कप्तान रोहित पौडेलले समान १–१ विकेट हात पारे।

यो जितसँगै नेपालले सुपर सिक्स चरणमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। नेपालले यसअघि ओमान र यूएईसँग पनि उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटतर्फ ठुलो सम्भावना कायम राखेको छ।

आजको खेलमा उत्कृष्ट ब्याटिङका लागि आसिफ शेख ‘म्यान अफ द म्याच’ घोषित भए।

यस जितसँगै नेपाल अहिले प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ र विश्वकप २०२६ का लागि आफ्नो स्थान बलियो बनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार