काठमाडौँ, भदौ २८ –
संयुक्त राष्ट्रसंघले नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिंदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय समन्वयकर्ता हान्ना सिंगर हाम्डीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको यस संवेदनशील घडीमा मुलुकको नेतृत्व ग्रहण गरेकी कार्कीलाई हार्दिक बधाई दिएकी हुन्। उनले कार्कीले मुलुकलाई स्थायित्व, न्याय र प्रगतितर्फ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
विज्ञप्तिमा राष्ट्रपतिको हैसियतमा रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोक सिग्देल तथा जेन–जेड युवा नेताहरूले यस ऐतिहासिक संक्रमणमा पुर्याएको योगदानको प्रशंसा गरिएको छ। साथै आन्दोलनका क्रममा जीवन गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
“नेपालका जनताको स्थायित्व, मानव अधिकार र दिगो विकासतर्फको यात्रामा संयुक्त राष्ट्रसंघ सरकारसँग देशीय टोलीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहन्छ,” विज्ञप्तिमा उल्लेख छ।
हाम्डीले प्रधानमन्त्री कार्कीलाई नेतृत्वको यो जिम्मेवारी पूरा गर्न आत्मबल र सफलताको शुभकामना पनि व्यक्त गरेकी छन्।
पूरा विज्ञप्ति :-
१२ सेप्टेम्बर २०२५, काठमाडौं
नेपालमा संयुक्त राष्ट्रसंघको तर्फबाट, माननीय सुशीला कार्कीज्यू प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा नेपालका जनताहरूलाई हार्दिक बधाई दिन चाहन्छु।
यस निर्णायक क्षणमा, नेपालका जनताहरूको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिका आकांक्षामा संयुक्त राष्ट्रसंघ नेपाली जनतासँगै छ।
माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोक सिग्देल, र जेन–जेड युवानेताहरूका महत्वपूर्ण योगदानलाई हामी स्वीकार गर्दछौं, जसको प्रयासले यो संक्रमण सम्भव भएको छ। यस आन्दोलनमा जीवन गुमाएका महान आत्माहरूप्रति पनि हामी श्रद्धाञ्जली अर्पण गर्दछौं।
यस संवेदनशील समयमा मुलुकको नेतृत्व ग्रहण गर्दै गर्नुभएको यो महत्वपूर्ण जिम्मेवारीमा माननीय प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना व्यक्त गर्दछौं।
नेपालका जनताको स्थायित्व, मानवअधिकार र दिगो विकासतर्फको यात्राको लागि संयुक्त राष्ट्रसंघ तपाईंको सरकारसँग, संयुक्त राष्ट्रसंघको देशीय टोलीमार्फत, सहकार्य गर्न प्रतिबद्ध रहन्छ।
संयुक्त राष्ट्रसंघ भवन, पुल्चोक, काठमाडौं, नेपालसंयुक्त राष्ट्र संघ आवासीय समन्वयकर्ता, नेपालहान्ना सिंगर हाम्डी


प्रतिक्रिया दिनुहोस्