गोविन्द नगाल क्षेत्री , सुर्खेत, असोज-४ –
नेपालको संविधान दिवस २०८२ र राष्ट्रिय दिवसको अवसरमा विगत एक दशकको राजनीतिक यात्रालाई फर्केर हेर्दा, लोकतान्त्रिक अभ्यासले आशा भन्दा बढी अस्थिरता बोकेको स्पष्ट देखिन्छ । २०७२ सालमा संविधान जारी भएपछि स्थिरता आउने अपेक्षा गरिएको थियो । तर विगत १० वर्षमै नेपालले ९ वटा सरकार र ३८० मन्त्री भोगिसकेको छ ।
२०७२ सालको संविधान जारी भएपछि पहिलोपटक प्रधानमन्त्रीमा सुशील कोइरालाले पदभार सम्हाले । त्यसपछि क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र फेरि ओली–देउवा हुँदै देशले पटक–पटक नेतृत्व फेरिनु पर्यो । १० वर्षको अवधिमा १० पटक प्रधानमन्त्रीको कुर्सी भरिएको तथ्यांकले राजनीतिक अस्थिरता प्रष्ट देखाउँछ । हालसम्म २०८२ साल भदौमा नेपालले पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई अनुभव गरिरहेको छ, जसलाई ऐतिहासिक घटना मानिएको छ ।
यस्तै, मन्त्रीहरुको हेरफेर झन् चकित पार्ने खालको छ । १० वर्षमा ३८० जना नेता मन्त्री बने । एक्लै पाँचपटक मन्त्री बनेका विष्णु पौडेल र चार–चार पटक मन्त्री बनेका जनार्दन शर्मा, टोपबहादुर रायमाझी, दामोदर भण्डारी, प्रभु साह, शक्ति बस्नेत र गौरीशंकर चौधरीजस्ता नेताहरु त्यही–त्यही नामहरुमध्ये परे । तीन–तीन पटक मन्त्री बनेका नेताहरुको सूची अझै लामो छ ।
जनताले भने नेताबाट भन्दा पनि नेतृत्वको निरन्तर फेरबदलले थिचोमिचो मात्र अनुभव गरे । विकास, सुशासन र स्थायित्वको वाचा दोहोरिए पनि परिणाम भने झन् टाढिँदै गयो । सरकार फेरिए पनि नेताहरु उस्तै, शैली उस्तै र प्राथमिकता पनि उस्तै भएकाले नागरिक स्तरमा निराशा बढिरहेको छ ।
संविधान दिवस २०८२ को सन्देश यसैबीच आएको छ । संविधान २०७२ ले लोकतन्त्र, गणतन्त्र र अधिकारको सपना बोकेको थियो । तर १० वर्षको अनुभवले प्रणालीभन्दा पनि अभ्यासमा कमजोरी रहेको प्रमाणित गरेको छ । राष्ट्रिय दिवस मनाउँदै गर्दा जनताले अब स्थिर सरकार, दीगो विकास र जिम्मेवार नेतृत्वको अपेक्षा गरिरहेका छन् ।
नेपालमा परिवर्तन नेताका लागि पदको खेल मात्र नभई नागरिक जीवनमा प्रत्यक्ष असर गर्ने स्थिरताको अभ्यास हुनुपर्ने आवाज अहिले झन् तीव्र भएको छ ।


प्रतिक्रिया दिनुहोस्