२०८२ कात्तिक १२ , बुधबार

महिला प्रधानमन्त्री कप : लुम्बिनीले कर्णालीलाई ७१ रनले हरायो



काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले पराजित गरेको हो । कर्णालीको भने यो तेस्रो हार हो ।

लुम्बिनीले दिएको १२७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली १३ ओभरमा ५५ रनमा अलआउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले २० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि सरस्वती पुनले ४ विकेट लिइन् । उनले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएकी हुन् । सरस्वतीले एकै ओभरमा ३ विकेट लिइन् । उनले १२।१ ओभरमा रमा बुढाथोकी, १२.२ ओभरमा रश्मी खड्का र १२.६ ओभरमा अन्जिला थापालाई आउट गरिन् ।

यसअघि, सरस्वतीले श्रुती बुढालाई ६।५ ओभरमा आउट गरिन् । मनिषा राना, आश्ना चौधरी र मधु डिसीले १–१ विकेट लिइन् । यसअघि लुम्बिनीले पूरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । लुम्बिनीका लागि रञ्जु श्रेष्ठले अर्धशतकीय पारी खेलिन् ।

रञ्जु ५१ रनमा अविजित रहिन् । उनले ५९ बलमा २ चौका प्रहार गरिन् । उनले ५५ बलमा २ चौका प्रहार गर्दै ५० रन पूरा गरिन् । कर्णालीका लागि अन्जु गुरुङले ३, रमा बुढाथोकीले २, तथा रश्मी खड्का र दिक्षा पूरीले १–१ विकेट लिइन् ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार