२०८२ कात्तिक १२ , बुधबार

चार महिनापछि बस्याे सुदूरपश्चिम प्रदेश सभा बैठक



धनगढी  । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि आइतबार बसेको छ । गत असोज ६ मा बैठक बसेपछि प्रदेशसभाको बैठक हुन सकेको थिएन । बैठकको विशेष समयमा अधिकांश सांसदले सरकारका कामले गति लिन नसकेको टिप्पणी गरे । सत्तारूढ कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले प्रदेश सरकारप्रति गुनासो बढ्दै गएको बताए ।

प्रदेशलाई बदनामीबाट मुक्त गर्न सबै मिलेर वातावरण मिलाउन आवश्यक रहेको उनको भनाइ थियो । अर्को सत्तारूढ दल नागरिक उन्मुक्तिका सांसद रामेश्वर चौधरीले सरकारका संयन्त्रहरू चलायमान नहुँदा समस्या भएको बताए । संसदीय समितिसमेत सक्रिय नभएको बताउँदै उनले प्रदेश सरकारप्रति नागरिकमा वितृष्णा बढ्दै गएको जनाए ।

सत्तारूढ दल एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहकारी ठगी प्रकरणमा सुदूरपश्चिममा पनि छानबिन कमिटी गठन गर्नुपर्ने बताए । विभिन्न जिल्लामा ‘सहकारी ठगहरू’ उदाएको उनको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल माओवादीको संसदीय दलका नेता मानबहादुर धामीले स्थायी राजधानी स्थापनाका विषयमा वर्तमान सरकार बेखबर रहेको टिप्पणी गरे ।

एकीकृत समाजवादीका प्रकाश रावलले चार महिनासम्म प्रदेशसभा बैठक नहुँदा सरकार हराएको टिप्पणी गरे । ‘जता गयो त्यतै गाली खानुपर्ने अवस्था छ । यो अवस्था हामीबाटै सिर्जना भएको हो,’ उनले भने, ‘प्रदेश सरकारको औचित्य छैन भन्न थालिएको छ । यो अवस्थालाई सुधार्न आवश्यक छ ।’

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार