२०८२ कात्तिक १२ , बुधबार

नेपाल प्रहरीमा प्रहरी जवान र कार्यालय सहयोगीका लागि दरखास्त आह्वान



१०-असोज, काठमाडौं ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ती छनोट शाखाले प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त आव्हान गरेको छ ।

जारी सूचना अनुसार इच्छुक उम्मेदवारहरूले आगामी २०८२ साल असोज १८ गतेदेखि कार्तिक १८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्नेछन् । फाराम तोकिएको जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रशिक्षण केन्द्र तथा तोकिएका स्थानहरूमा बुझाउन सकिने व्यवस्था गरिएको छ ।

परीक्षा प्रणाली

उम्मेदवारहरूले स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा (लोक सेवा आयोगको स्वरूपमा), व्यावहारिक परीक्षा तथा अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्नेछ । लिखित परीक्षामा बहुविकल्पीय (MCQ) प्रश्नमा ५०% भन्दा बढी अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

उमेर हद

प्रहरी जवान (जम्पद) : दरखास्त दिनु पर्ने अन्तिम मितिसम्म उमेर १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ ।

प्रहरी कार्यालय सहयोगी : उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

शैक्षिक योग्यता तथा शारीरिक मापदण्ड

प्रहरी जवानका लागि न्यूनतम कक्षा ८ पास गरेको हुनुपर्नेछ ।

पुरुष: उचाइ ५ फिट २ इन्च, तौल ५० के.जी.

महिला: उचाइ ५ फिट, तौल ४२ के.जी.

कार्यालय सहयोगीका लागि सामान्य लेखपढ गर्न सक्ने हुनुपर्नेछ ।

पुरुष: उचाइ ५ फिट, तौल ५० के.जी.

महिला: उचाइ ४ फिट १० इन्च, तौल ४२ के.जी.

दस्तावेजहरू

दरखास्तसंगै नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, आवश्यक जातीय/आर्थिक/अपांगता/शहीद परिवारको प्रमाणपत्र (सम्बन्धित भएमा) समेत पेश गर्नुपर्नेछ ।

परीक्षा सञ्चालन स्थल

विभिन्न प्रदेशगत प्रहरी प्रशिक्षण केन्द्र तथा तोकिएका स्थानहरूमा परीक्षा सञ्चालन हुने जानकारी गराइएको छ । परीक्षा मिति र तालिका नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिनेछ ।

नेपाल प्रहरीका अनुसार यस भर्ती प्रक्रियाले सुरक्षामा थप जनशक्ति अभाव कम गर्ने र युवाहरूलाई रोजगारीका अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार