
सुर्खेत, २०८२ मंसिर ८ —
जिल्ला सुर्खेतको बिरेन्द्रनगर–९, काक्रेबिहार जंगलमा दुई किशोर–किशोरीले झुन्डिएर आत्महत्या गरेको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चिएको छ। घाँस काट्न जंगल गएका स्थानीयले करौतीको रुखमा सलको पासो लगाई झुन्डिएको अवस्थामा युवक–युवतीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार घटना आज बिहान करिब ११:२० बजेको हो। सूचनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा पाँच जनाको टोली खटिएकाे थियो। टोली घटनास्थलमा पुगेको समय करिब १३:१५ बजेको थियो।
घटनास्थलमै भएका सनाखत अनुसार मृतक किशोरी बिरेन्द्रनगर–१० खजुरा बस्ने १६ वर्षीया दिपिका चौधरी रहेको पुष्टि भएको छ। उनको सनाखत सहोदर काका राजु चौधरीले गरेका हुन्।
त्यसैगरी मृतक किशोर जुम्ला, कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको फुपु गिता खत्रीले सनाखत गरेकी छन्।
पुलिसका अनुसार दुबै जनाले कसरी र किन यस्तो कदम चाले भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ। घटना स्थलबाट संकलित प्रमाण, पारिवारिक पृष्ठभूमि तथा पछिल्ला गतिविधि बारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
प्रहरीले पोष्टमार्टम तथा आवश्यक वैधानिक प्रक्रिया सम्पन्न गर्दै घटनाको वास्तविकता खुलाउने प्रतिबद्धता जनाएको छ।
यस घटनाले समाजमा किशोर–किशोरीबीच बढ्दो मनोवैज्ञानिक दबाब तथा समस्याबारे गम्भीर चिन्ता उठाएको छ।
प्रतिक्रिया दिनुहोस्