२०८२ मंसिर ११ , बिहीबार

दैलेखको ठाँटीकाँधमा विद्यार्थीको दैनिक जोखिमपूर्ण यात्रा : घट्टे खोलामा काठको लाप्कोमै भर



दैलेख, कार्तिक २२ —
दैलेखको ठाँटीकाँध गाउँपालिका–३ का विद्यार्थीहरू हरेक दिन विद्यालय पुग्न दुई घण्टा लामो दूरी तय गर्न बाध्य छन्। माझखर्क, बजाय देखि बहाकोटसम्म अध्ययनका लागि आउने–जाने विद्यार्थीहरूलाई बाटोमा पर्ने घट्टे खोला वर्षायाममा ठूलो चुनौती बन्छ।

खोलामा स्थायी पुल नहुँदा आवतजावत अत्यन्त जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन्। गाउँका अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय आउजाउमा सहजता होस् भन्ने उद्देश्यले आफ्नै पहलमा काठको लाप्को पुल बनाई प्रयोग गर्दै आएका छन्। तर वर्षा परेपछि खोलामा आउने भेलले बारम्बार उक्त लाप्को बगाएर लैजाने गरेको छ।

स्थानीय जनक दसाैती भन्छन्, “वर्षौं देखि यही सास्ती झेल्दै आएका छौं। विद्यार्थीहरू पढ्न जान्छन् कि बाढीमा बग्छन् भन्ने डर रहन्छ। तर हाम्रो वडा र पालिका सरकारले यो समस्यालाई रमिता झैं हेरेका छन्।”

उनका अनुसार अहिले सम्म न त स्थानीय सरकारबाट समाधानका लागि कुनै पहल भएको छ, न त माथिल्लो तहमा यो समस्या उठाइएको छ। गाउँलेहरूले भने “यो सास्ती कहिलेसम्म भोग्ने ?” भनेर गुनासो व्यक्त गरेका छन्।

विद्यार्थीहरूको शिक्षामा बाधा पुर्‍याउने यस समस्या समाधानका लागि स्थानीयवासीले शीघ्र स्थायी पुल निर्माणको माग गरेका छन्।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार