२०८२ मंसिर ११ , बिहीबार

आगलागी प्रकरणमा संलग्न १ जना पक्राउ



वीरेन्द्रनगर , सुर्खेत ।

मिति २०८२ कार्तिक ३० गते बिहान करिब ४ः२० बजे सुर्खेतको बिरेन्द्रनगर–६, सनिहल लाइनस्थित दुई तले टिनले छाएको सुपर मार्केटमा आगलागी हुँदा दुई वटा पसल पूरै जलेर नष्ट भएको छ ।

स्थानीय श्याम चलाउने र धन ब. जि. सि. ले संचालनमा ल्याएको १८ वटा सटर रहेको उक्त सुपर मार्केटको सटर नं.–१ मा रहेको नवदुर्गा बेबी शप, जसलाई बिरेन्द्रनगर–६ की जुना कुमारी बोहोराले संचालन गर्दै आएकी थिइन्, पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सटर नं.–२ मा रहेको दैलेख, भगवतीमाई गाउँपालिका–६ का खगिसरा बुढा रोकायाले संचालन गरेको अचार पसल समेत आगोले नष्ट गरेको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको थियो भने सुर्खेतको दमकलको सहयोगमा बिहान ५ः०० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीको कारण खुल्न बाँकी रहे पनि घटनालगत्तै फरार रहेका बिरेन्द्रनगर–८ बस्ने २८ वर्षीय दीपक कँडेललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रहरीका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार