२०८२ कात्तिक १२ , बुधबार

लोकसेवा परीक्षामा नक्कली परीक्षार्थी नियन्त्रणमा



सुर्खेत, भदौ ४ – सुर्खेतमा संचालन भइरहेको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आज बिहान ९:३० बजे जिल्ला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग, सुर्खेत कार्यालयमा सञ्चार/इञ्जिनियर प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षा भइरहेको समयमा दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, जाजरकोट छेडागाड नगरपालिका–१२ का धर्मराज चनराको सट्टामा परीक्षामा दिन आएका कुशे गाउँपालिका–७ सामाकोट निवासी २५ वर्षीय श्याम शंकर सिंहलाई पक्राउ गरिएको छ। त्यस्तै, दैलेख भगवतीमाई गाउँपालिका–५ निवासी सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका भरत तिरुवा (२० वर्ष) लाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूले नागरिकता र प्रवेशपत्रमा फोटो हेरफेर गरी अर्कै व्यक्तिको नाममा परीक्षा दिन खोजेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनामाथि लिखत तथा किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

लोकसेवा आयोगमा यस्ता नक्कली परीक्षार्थी भेटिनु परीक्षाको शुद्धता र विश्वासनीयतामाथि प्रश्न उठ्ने अवस्था आएको भन्दै आयोगले समेत घटनाबारे छानबिन अघि बढाउने जनाएको छ।

 

 

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार