
सुर्खेत/गुर्भाकोट ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गुर्भाकोट नगरपालिका वडा नं. ६ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष तथा जनप्रिय नेता धनिराम जैसी सहित कांग्रेसका सक्रिय नेता चन्द्रप्रकाश रोकाय र प्रेम बिक नेकपा (एमाले) मा समाहित भएका छन्।
एक विशेष कार्यक्रमका बीच उनीहरूलाई एमालेका स्थानीय तथा जिल्ला नेतृत्वले टीका–खादा लगाएर भव्य स्वागत गरेका छन्। लामो समयदेखि जनताको पक्षमा काम गर्दै आएका उनीहरूको एमाले प्रवेशले गुर्भाकोटको राजनीतिक अवस्था नयाँ मोडमा पुगेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।
कांग्रेसलाई ठुलो झड्का
कांग्रेसबाट निर्वाचित भई लोकप्रियता कमाएका धनिराम जैसी जस्ता नेताको पार्टी परित्यागले गुर्भाकोट–६ मा कांग्रेस संगठन कमजोर हुने संकेत देखिएको छ। स्थानीय तहमा जनाधार बलियो मानिएका नेताहरू क्रमशः बाहिरिनु कांग्रेसका लागि गम्भीर राजनीतिक चुनौती बनेको छ। यस घटनाले आगामी निर्वाचनमा कांग्रेसको मताधारमा प्रत्यक्ष असर पर्ने आंकलन गरिएको छ।

एमालेको संगठन सुदृढ
उता, अनुभवी र जनप्रिय नेताहरू एमालेमा प्रवेश गरेसँगै वडा नं. ६ मात्र नभई समग्र गुर्भाकोटमा एमालेको संगठन थप सुदृढ हुने विश्वास गरिएको छ। जनस्तरमा राम्रो पकड बनाएका नेताहरूको आगमनले एमालेको जनविश्वास बढ्नुका साथै आगामी निर्वाचनमा पार्टीलाई स्पष्ट फाइदा पुग्ने देखिन्छ।
एमाले नेताहरूले पार्टी जनताको चाहना, विकास र सुशासनको पक्षमा रहेकाले प्रभावित भएर नेताहरू समाहित भएको दाबी गरेका छन्। नवप्रवेशी नेताहरूले पनि अब एमालेमार्फत जनताको सेवा र विकासका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय राजनीतिमा तरंग
यस घटनाले गुर्भाकोटको स्थानीय राजनीतिमा तरंग ल्याएको छ। कांग्रेसभित्र आन्तरिक समीक्षा आवश्यक भएको चर्चा सुरु भएको छ भने एमाले कार्यकर्ताहरूमा उत्साह थपिएको देखिन्छ।









प्रतिक्रिया दिनुहोस्