
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन नगर्ने उद्देश्यले वर्तमान सरकार विभिन्न बहाना बनाइरहेको आरोप लगाएका छन्।
आज एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले फागुन २१ गते तय गरिएको निर्वाचन सार्ने मनसाय सरकारको व्यवहारबाट स्पष्ट देखिन थालेको बताए। सुरुमा राजनीतिक दलहरूलाई देखाएर निर्वाचन स्थगित गर्न खोजिएको भए पनि अहिले त्यो अवस्था नरहेको उनको भनाइ थियो।
उनले सरकार स्वयं अन्योलमा परेको जस्तो देखिएको उल्लेख गर्दै चुनावप्रति स्पष्ट र दृढ प्रतिबद्धता नदेखिएको आरोप लगाए। “सरकारले चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई सीमित स्थानमा मात्र प्रचार गर्न दिइने अवस्था सिर्जना गरिन्छ भने त्यो कसरी निष्पक्ष चुनाव हुन सक्छ?” भन्दै उनले प्रश्न गरे।
चुनावी गतिविधिमाथि अनावश्यक बन्देज लगाइनु लोकतन्त्रको मूल मर्मविपरीत भएको टिप्पणी गर्दै कँडेलले स्वतन्त्र राजनीतिक क्रियाकलापको सुनिश्चितता आवश्यक रहेको बताए।
मुख्यमन्त्री कँडेलले नेकपा एमाले सधैं लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरण बनेमा निर्वाचनमा सहभागी हुन पार्टी तयार रहेको स्पष्ट पारे। त्यसका लागि सरकारले गम्भीर भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

संविधान, लोकतन्त्र र देशका लागि एमालेले पुर्याएको योगदानको स्मरण गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे। “लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि एमालेको एकता आजको आवश्यकता हो,” उनको भनाइ थियो।









प्रतिक्रिया दिनुहोस्