
सुर्खेत । पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका–स्थित वीरेन्द्रचोकमा राजतन्त्रको पक्षमा कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) सुर्खेतको आयोजनामा सम्पन्न कार्यक्रममा राजतन्त्र पुनःस्थापनाको माग गर्दै र्याली तथा कोणसभा गरिएको हो।
कार्यक्रममा रा.प्र.पा. सुर्खेत जिल्ला अध्यक्ष कविराम पुरी र पार्टी नेतृ इश्वरी श्रेष्ठले सम्बोधन गर्दै वर्तमान राजनीतिक व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए। उनीहरूले देशको राष्ट्रियता, एकता र स्थायित्वका लागि संवैधानिक राजतन्त्र आवश्यक रहेको दाबी गरे।

अध्यक्ष पुरीले पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपाल आज राजनीतिक अस्थिरता, भ्रष्टाचार र सुशासनको अभावका कारण संकटमा परेको बताए। “राजतन्त्र नेपालको पहिचान र राष्ट्रिय एकताको प्रतीक हो,” उनले भने, “देशलाई सही दिशामा लैजान राजसंस्थाको भूमिका अझै आवश्यक छ।”
त्यस्तै नेतृ इश्वरी श्रेष्ठले जनताको भावना र इतिहासलाई बेवास्ता गर्दै गणतन्त्र लादिएको आरोप लगाइन्। उनले वर्तमान व्यवस्था असफल भइसकेको दाबी गर्दै राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्थामा फर्किनु नै मुलुकको निकास भएको बताइन्।
कार्यक्रममा पृथ्वी नारायण शाह र पूर्वराजा वीरेन्द्रका तस्बिरसहित झाँकी प्रस्तुत गरिएको थियो भने सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर नाराबाजी गरेका थिए। कार्यक्रममा विभिन्न उमेर समूहका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
पृथ्वी जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कार्यक्रमका कारण केही समय वीरेन्द्रचोक आसपासको सवारी आवागमन प्रभावित भएको थियो।









प्रतिक्रिया दिनुहोस्