२०८२ माघ १९ , सोमबार

दोस्रो चिप्ले कृषि, पर्यटन, व्यापार तथा माघी महोत्सव–२०८२ सुरु हुँदै



सुर्खेत । सामाजिक, सांस्कृतिक सम्पदा संरक्षणसँगै युवा तथा देश विकासलाई गतिशील बनाउने उद्देश्यका साथ दोस्रो चिप्ले कृषि, पर्यटन, व्यापार तथा माघी महोत्सव–२०८२ आयोजना हुने भएको छ।
महोत्सव पौष २८ गतेदेखि माघ १२ गतेसम्म सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–११, चिप्लेमा सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवको आयोजनामा चन्द्र सूर्य स्पोर्ट क्लब, भेरीगंगा–११, राताचाैर, सुर्खेत रहेको छ भने भेरीगंगा नगरपालिका वडा नं. ११ को कार्यालय संरक्षकका रूपमा रहेको छ। त्यसैगरी कर्णाली रिपोर्टर्स प्रा.लि., गुर्भाकोट–६, सुर्खेतले मिडिया पार्टनरको भूमिका निर्वाह गर्नेछ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूका सांस्कृतिक नृत्य, गीत–संगीत तथा कला प्रस्तुतिहरू पनि समावेश गरिने जनाइएको छ।


कृषि, पर्यटन र व्यापार प्रवर्द्धनका लागि विभिन्न स्टलहरू, स्थानीय उत्पादनको प्रदर्शनी, मौलिक संस्कृति झल्कने कार्यक्रम तथा माघी पर्व विशेष गतिविधिहरू महोत्सवका प्रमुख आकर्षण रहने आयोजकले बताएका छन्।
आयोजकका अनुसार महोत्सवले स्थानीय किसान, व्यवसायी र कलाकारलाई प्रोत्साहन गर्नुका साथै कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार