२०८२ माघ १९ , सोमबार

दुर्गम बस्ती समेटेर नयाँ वडा गठनको माग, माग नसुने निर्वाचन बहिष्कारको चेतावनी




दैलेख । दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ अन्तर्गतका पाल्त, सल्लेरी, काफलगैरा तथा ठाँटीकाँध गाउँपालिका–३ का बजाया र माझखर्कलाई समायोजन गरी छुट्टै नयाँ वडा कायम गर्न स्थानीयले माग गरेका छन्।
शनिबार सम्बन्धित क्षेत्रका नागरिकको संयुक्त भेलाले ज्येष्ठ सदस्य सार्कीराम क्षेत्रीको अध्यक्षतामा बैठक गर्दै भौगोलिक रूपमा दुर्गम यी बस्तीलाई दुई अलग पालिकामा विभाजन गरेर राख्नुको सट्टा एउटै वडा बनाएर व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

स्थानीयका अनुसार चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का पाल्त, सल्लेरी र काफलगैराबाट वडा कार्यालय पुग्न २ देखि ३ घण्टा पैदल हिँड्नुपर्छ भने ठाँटीकाँध–३ का बजाया र माझखर्कबाट २ देखि साढे २ घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ। सडक पुगेको १०–१२ वर्ष बितिसक्दा पनि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा नआउँदा पालिकाको केन्द्र पुग्न ६ देखि १० घण्टासम्म लाग्ने स्थानीयको गुनासो छ।
यही अवस्थालाई कारण देखाउँदै दुवै पालिकामा रहेका ती बस्तीलाई समायोजन गरी छुट्टै नयाँ वडा कायम गर्नुपर्ने माग अघि सारिएको हो। माग पूरा नभए आगामी फागुन २१ गते हुने आम संसदीय निर्वाचनसहित भविष्यमा हुने स्थानीय, प्रदेश तथा अन्य सबै निर्वाचनमा सहभागी नहुने चेतावनीसमेत स्थानीयले दिएका छन्।
भेलाले प्रस्तावित नयाँ वडाको सिमाना पूर्वमा रामगाड खोला–सिरुडाँडा, पश्चिममा गोठिखोला हुँदै भित्री खोला, उत्तरमा कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको सिमाना र दक्षिणमा रामगाड–गोठिखोला दोभान निर्धारण गरी सम्बन्धित निकायमा माग पेस गर्ने निर्णय गरेको छ।
यसैबीच, नयाँ वडा कायम गराउन दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गरिएको छ। अम्मरबहादुर क्षेत्री संयोजक रहेको समितिको सह–संयोजकमा हिमबहादुर शाही र अर्जनबहादुर बुढा रहेका छन् भने समितिमा १८ जना सदस्य छन्।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार