२०८२ कात्तिक १२ , बुधबार

गायिका कोमल ओलीद्वारा घर र होटलमा आगजनीप्रति आपत्ति — न्याय र उत्तरदायित्वको माग



तुलसीपुर  भाद्र-२७ — चर्चित गायिका तथा पूर्वराजनीतिज्ञ कोमल ओलीले आफ्नै घर र सञ्चालन गर्दै आएको होटलमा आगजनी र तोडफोड गरिएको भन्दै गम्भीर आपत्ति जनाउँदै न्याय माग गरेकी छन्। उनले आफूले गरेको प्रतिबद्धता, मेहनत र सपनामाथि गरिएको हमलालाई नियतवश तथा योजनाबद्ध अपराध भनेकी छन् र दोषीहरूलाई कानूनी दायरामा ल्याउन जोड दिएकी छन्।

कोमलले सार्वजनिक गरेको विस्तृत वक्तव्यमा भनिएको छ — “हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो। … मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाईयो।” उनले उक्त घटनालाई “नियतवश, योजनाबद्ध, भीडमा पसेर गरिएको अपराध” भन्दै कडा भर्त्सना गरेकी छन्।

वक्तव्यका प्रमुख बुँदाहरु,

कोमलले बताइन् कि उनको घर र सानो बाट संचालन गरेको कोमल होटलमा आगो लगाइयो तथा मेरो आर्थिक मेहनत र गाउँका दुईचार जनाको रोजगारी समेत प्रभावित भएको छ।

उनले भनिन् कि होटल गाउँको रोजगारी र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा रहेको थियो र करिब ४० जना स्थानीय नागरिकको रोजगारी त्यहीँ बाट थियो ।

आन्दोलनलाई समर्थन गर्ने युवाहरू (जेन–जी) प्रति कृतज्ञता व्यक्त गर्दै , त्यसैको नाममा गरिएका हिंसात्मक कार्यहरूलाई उनले आन्दोलनको रुपमा अस्वीकार गरिन्।

कोमलले २०६१ सालमा माओवादीले कब्जा र घरमा भएको प्रकोप समेत स्मरण गर्दै पुनः त्यस्ता कार्य  दोहरिएको आरोप लगाइन् र त्यसलाई ठूलो पापको रुपमा वर्णन गरिन्।

उनले न्यायको माग गर्दै दोषीहरूलाई कानुनी कठघरामा उभ्याइने चेतावनी दिईन्: “यो देश बाँचि रहने छ — कानुनी शासन चल्ने छ र तिमीहरूले उत्तर दिनुपर्नेछ।”

व्यक्तिगत पृष्ठभूमि र उक्त वक्तव्यमा कोमलले आफ्नो करियरका केहि झलकहरू पनि प्रस्तुत गरेकी छन् — रेडियो नेपालमा गीत र समाचार वाचनबाट शुरुआत, करिब १८ वर्ष रेडियो सेवामा रहेर काम गरेको अनुभव, २०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भएर चार वर्षे कार्यकाल पूरा गरेको र आफ्नो सम्पूर्ण पूँजी ईमान र निष्ठामा मात्र रहेको दाबी उनले दोहोराइन।

कोमलले दोषीहरू विरुद्ध कडा अनुसन्धान र दण्डको माग गरेकी छन् र स्थानीय समुदाय तथा कानून बमोजिम कारबाहीको अपेक्षा व्यक्त गरेकी छन् कि घटना सत्यतथ्य सहित उजागर गरियोस् र क्षतिपूर्तिको प्रक्रिया अघि बढोस्। उनले सांस्कृतिक रूपमा आफ्नो पहिचान र गीतमार्फत् नेपाललाई चिनाएकाे अनुभवलाई पनि उद्धृत गर्दै यस घटनामा आरोपितहरु विरुद्ध कडा कारबाहीको पक्षमा आफ्नो अडान व्यक्त गरेेकि छन् ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार