२०८२ माघ १९ , सोमबार

गुर्भाकोट नगरसभाको १८औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट संशोधन सर्वसम्मत पारित




सुर्खेत । गुर्भाकोट नगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सोमबार मेहेलकुना, सुर्खेतस्थित सिटीहलमा सम्पन्न भएको छ। ‘सुख र समृद्धिको आधार : समुन्नत गुर्भाकोट’ भन्ने मूल नारासहित आयोजित अधिवेशन नगरप्रमुख एवं सभाध्यक्ष हस्त पुनको अध्यक्षतामा सम्पन्न भएको हो।


अधिवेशनमा नगर उपप्रमुख मैना बिक, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल, नगरसभा सदस्यहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सभाध्यक्षको अनुमतिमा विधायन समिति संयोजक राजन बिसीले ‘दलित समुदायको अधिकार संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयन सम्बन्धी विधेयक, २०८२’ नगरसभामा प्रस्तुत गर्नुभएको थियो। साथै, नगर उपप्रमुख मैना बिकले नगरपालिकाको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सभामा पेश गर्नुभएको थियो।
सभामा प्रस्तुत दुवै प्रस्तावमाथि छलफल पश्चात नगरसभा सदस्यहरूको बहुमतबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो। पारित प्रस्तावहरूले समावेशी विकास, सामाजिक न्याय तथा लक्षित समुदायको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नगरप्रमुख एवं सभाध्यक्ष हस्त पुनले नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै, नगरपालिकाले आगामी दिनमा नीति, कार्यक्रम र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै नागरिकको जीवनस्तर उकास्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सबैको सहकार्य, सुझाव र समर्थनले मात्रै समुन्नत गुर्भाकोट निर्माण सम्भव हुने धारणा राख्नुभयो।
सभाध्यक्ष पुनले नगरसभा समापनको घोषणा गर्दै १८औँ अधिवेशन औपचारिक रूपमा समाप्त भएको जानकारी गराउनुभयो।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार