२०८२ माघ १९ , सोमबार

Gen-Z 2.0 र नगरपालिकाको सहकार्यमा सफा वीरेन्द्रनगर अभियान तीव्र



सुर्खेत। सफा वीरेन्द्रनगर मूल नारालाई आत्मसात गर्दै Gen-Z 2.0 कर्णालीको नेतृत्व तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा पाँचौँ चरणको सरसफाइ कार्यक्रम आज वीरेन्द्रनगरस्थित बसपार्क परिसरमा सम्पन्न भएको छ।
कार्यक्रममार्फत Gen-Z 2.0 ले सफा र व्यवस्थित सहर निर्माणका लागि विभिन्न महत्वपूर्ण विषयहरू नगरपालिकासमक्ष प्रस्ताव गरेको छ। ती प्रस्तावहरूमा फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, खाद्य सुरक्षा तथा उपभोक्ता हकको संरक्षण, बसपार्क परिसरमा २५ वटा डस्टबिनको व्यवस्था, यात्रुसँग अभद्र व्यवहार गर्न नपाइने व्यवस्था लगायत रहेका छन्।
त्यसैगरी सार्वजनिक स्थलमा गुटखा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाई उल्लङ्घन गर्नेलाई जरिवाना गर्ने, धूम्रपानका लागि छुट्टै Smoking Zone व्यवस्था गर्ने, सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाउने, यात्रुका लागि प्रतिक्षालय थप गर्ने विषय पनि प्रस्तावमा समेटिएका छन्।
Gen-Z 2.0 ले सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने, डस्टबिन नराखेमा जरिवाना गरिने, सवारी साधनभित्र यात्रुलाई अनिवार्य सूचना प्रदान गर्नुपर्ने र निरन्तर सचेतनामूलक सन्देश प्रसारण गरिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेको छ।
प्रस्तावित नियम तथा व्यवस्था पालना नगर्ने वा अटेरी गर्नेहरूलाई माघ १ गतेदेखि नगरपालिकाले जरिवाना गर्ने जानकारी पनि कार्यक्रममा दिइएको छ।
सफा, स्वच्छ र सभ्य वीरेन्द्रनगर निर्माणमा सबै नागरिकको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आयोजकले यस्ता अभियानलाई निरन्तरता दिइने जनाएका छन्।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार