
सुर्खेत । यात्रुहरूको सुविधा, सुरक्षा र आरामदायी यात्रालाई प्राथमिकता दिँदै सुर्खेतमा पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न बस सेवा सञ्चालनमा आएको छ। काक्रेविहार यातायात प्रा. लि.को स्वामित्वमा रहेको कर्णाली याक्स नामक बस सेवा औपचारिक रूपमा आज शुभ–उद्घाटन गरिएको हो।
अशोक लेल्यान्डको भाइकिङ डबल एयर सस्पेन्सन प्रविधियुक्त उक्त बसको उद्घाटन काक्रेविहार यातायात प्रा. लि.का अध्यक्ष रमेश सापकोटाले गर्नुभएको हो। पश्चिम नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको यस बसमा सोफासेट सहित अत्यन्तै आरामदायी सिट जडान गरिएको छ।
४५ सिट क्षमताको यस बसमा चार जना यात्रुले सुत्न मिल्ने विशेष सुविधा समेत उपलब्ध छ। लामो दूरीका यात्रुहरूलाई लक्षित गरी डिजाइन गरिएको यो बसले यात्राको क्रममा थकान कम गर्ने र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्य लिएको जनाइएको छ।
प्रति बस करिब १ करोड १४ लाख रुपैयाँ लागत पर्ने यस सवारी साधनमा २२५ हर्सपावर क्षमताको इन्जिन प्रयोग गरिएको छ। आईएमई मोटर्स कम्पनी लिमिटेड प्रा. लि.का प्रतिनिधि गंगाराज भुर्तेलका अनुसार यस्तो क्षमताको बस नेपालमा पहिलो पटक भित्र्याइएको हो। यसअघि यस्तै प्रविधियुक्त बस कुनै पनि कम्पनीले नेपालमा नल्याएको बताइएको छ

काक्रेविहार यातायात प्रा. लि.ले यसअघि नै ३४ वटा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइ सकेको जनाएको छ। वातावरणमैत्री र इन्धन बचतलाई प्राथमिकतामा राखेर ल्याइएको यस बसले सुर्खेत–काठमाडौँ करिब ६५० किलोमिटर दूरीमा अन्य बसको तुलनामा १० देखि १२ हजार रुपैयाँसम्म इन्धन बचत गर्ने अनुमान गरिएको छ।
सरकारले तोकेको भाडादरमै यात्रुले यो सुविधा सम्पन्न बस सेवा उपयोग गर्न पाउने व्यवस्था गरिएको छ। यात्रुलाई तोकिएको समयमै सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रतिबद्धता समितिले जनाएको छ।
आगामी पुस २५ गतेदेखि विराट यातायातसँगको सहकार्यमा सुर्खेतदेखि काकडभिट्टासम्म नियमित सेवा सञ्चालन हुने जानकारी दिइएको छ। यस सेवाले कर्णाली प्रदेशबाट पूर्वी नेपालसम्मको यात्रा थप सहज, सुरक्षित र आरामदायी हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्