२०८२ माघ १९ , सोमबार

गुर्भाकोटको ओएनएम सर्भे–२०८० बारे हाकिमको टिप्पणीः यो खडेरीमा छरेको बीउ जस्तै हो



सुर्खेत। गुर्भाकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गुर्भाकोट नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएनएम)–२०८० खडेरीमा छरेको बीउ जस्तै भएको टिप्पणी गरेका छन्। गुर्भाकोट नगरपालिकाका स्वास्थ्य संस्थाहरुको चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा बैठकको समापन समारोहलाई आइतवार संवोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले हाललाई यो ओएनएमको महत्व शून्य भएको बताए।

यस अघि गुर्भाकोट नगरपालिकाका कर्मचारीको आन्तरिक व्यवस्थापनका लागि गुर्भाकोट नगरपालिकाको चौधौं नगरसभा बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८० पारित गरेको थियो। गुर्भाकोट नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले उच्च महत्वका साथ चौधौं नगरसभा मार्फत दुई महिना भन्दा बढी समय खर्चेर गुर्भाकोट नगरपालिका भित्रका कर्मचारीको व्यवस्थापनका लागि ओएनएम सर्भे–२०८० को ड्राफ्ट गरेका थिए। उक्त प्रतिवेदन कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा दर्ता भई कर्मचारीहरुको वैयक्तिक विवरण सूचीकृत भएपछि मात्र कार्यान्वयन हुने समेत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाई थियो।

यद्यपि गुर्भाकोट नगरपालिकाले उक्त ओएनएमलाई नै आधार मानेर कतिपय कर्मचारीहरुको सरुवा तथा कामकाजमा खटाउने गरेको, संस्था थप गर्ने गरेको, नयाँ नियुक्ती गरिएको, बेरुजु भएको कर्मचारीहरुको तलबलाई फछ्र्यौट गर्ने गरेको पाईएको छ।

एकातिर अघिल्लो प्रमुख प्रशासकीय अधिकृतले अत्यधिक मेहनत गरेको, नगर कार्यपालिकाले प्रस्ताव गरेको र चौंधौं नगर सभाले सर्वसम्मत पारित गरेको गुर्भाकोट नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८० र अर्कोतिर बहालवाला प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको टिप्पणीले संगठन तथा व्यवस्थापन सर्वेषण प्रतिवेदन–२०८०को वैधानिकतामा नै प्रश्न उठ्ने देखिन्छ।

योसँगै स्थानीय तह स्वमूल्यांकन प्रतिवेदनमा जिल्लामै प्रथम भएको गुर्भाकोट नगरपालिकाले आफैले बनाएका ऐन नियम कानूनको बर्खिलाप कामकाज गर्दा स्थानीय तह स्वमूल्यांकन (LISA ) को प्राप्तांकमा समेत प्रश्न उठेको छ।

प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार