२०८२ माघ १९ , सोमबार

गुर्भाकोटमा सामुदायिक वन उपभोक्ताका लागि ३ दिने वन व्यवस्थापन तालिम सुरु



सुर्खेत । सामुदायिक वन उपभोक्ता समूहहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गुर्भाकोट नगरपालिकामा वन व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको छ । तालिम सामुदायिक वन महासंघ सुर्खेतको आयोजनामा तथा गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा भएको हो ।

कार्यक्रमको अध्यक्षता सामुदायिक वन महासंघ सुर्खेतका जिल्ला अध्यक्ष चन्द्र प्रसाद थानीले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा नगर प्रमुख हस्त पुन सहभागी रहनुभएको थियो ।

कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन नगर संयोजक एवं कार्यपालिका सदस्य चितेन्द्र बि.क., १० नम्बर वडा सदस्य रुद्र खत्री, सब डिभिजन वन कार्यालय गुर्भाकोटका रेन्जर दिपेन्द्र कडेल तथा गुर्भाकोट नगर सामुदायिक वन महासंघका अध्यक्ष जय खत्रीको उपस्थिति रहेको थियो ।

तालिममा नगर क्षेत्रभित्रका २५ वटा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हस्त पुनले सामुदायिक वन संरक्षणसँगै दिगो र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताउँदै नगरपालिकाले सामुदायिक वनको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रेन्जर दिपेन्द्र कडेलले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न सकेमा वन संरक्षण अझ प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन गोविन्द नगाल क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार