
सुर्खेत। वीरेन्द्रनगरमा सवारीसाधनको ठक्करबाट एक पुरुषको ज्यान गएको छ। शनिबार बिहान करिब ५ बजे वीरेन्द्रनगर नगरपालिका–१ स्थित टेम्पो पार्क नजिक अज्ञात गाडीको ठक्करबाट दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ निवासी ४३ वर्षीय जंगबहादुर बुढाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुढा मदिरा सेवनको अवस्थामा सडकमा सुतेको समयमा अज्ञात सवारीसाधनले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी दीपक मगराठीले जानकारी दिए।
प्रहरीका अनुसार हालसम्म ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। घटनामा संलग्न सवारीसाधन पत्ता लगाउन आसपास क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेज संकलन तथा अध्ययन गर्ने काम भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्