२०८२ माघ १९ , सोमबार

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन अधिकृतहरू तोकिए



काठमाडौं ।  निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरेको छ। आयोगले पुस २५ गतेदेखि लागू हुने गरी देशभर ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत खटाएको हो।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्था अनुसार न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। त्यस्तै, न्याय सेवा आयोगसँग समन्वय गरी नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको जनाइएको छ।


नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि आफू तोकिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले समयमै प्रशासनिक संरचना तयार गरेर निर्वाचन प्रक्रिया व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार