गुर्भाकोट, साउन २६
भेडावारि–सिमखोला सडकखण्ड अन्तर्गत चुनेअम्रै–सिमखोला सडकको झण्डै २.५ किलोमिटर क्षेत्रमा आज सडक सरसफाइ तथा मर्मत कार्य सम्पन्न गरिएको छ।
स्थानीय समाजसेवी सन्दिप वलीको पहलमा गुर्भाकोट–११ का ६ जना युवा सक्रिय भएर सडक सुधारमा जुटेका हुन्। यसका लागि डम्मर बहादुर डाङ्गी, घनश्याम वली, नोखबहादुर खत्री, समशेर खत्री, भुमिसरा डाङ्गी र दिपा खत्रीबाट जम्मा रु ४,१००/- संकलन गरी आठ जना श्रमिकको खाजाको व्यवस्था गर्दै बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कार्य सञ्चालन गरिएको थियो।
सडकमा वर्षाको कारण बनेका खाल्डाखुल्डी पुर्ने, ठूला ढुङ्गा हटाउने, बाटोको झाडी फाड्ने र नाला काटेर पानी साइड लगाउने काम गरियो। यसबाट मोटरसाइकल, अटो र साना सवारी साधन सहज रूपमा सञ्चालन गर्न सकिने भएको छ।
“स्थानीयको सहयोग र एकताले मात्र यस्ता काम सम्भव हुन्छ,” वलीले कर्णाली रिपोर्टर्ससँग भने, “आगामी दिनमा पनि समाजका अप्ठ्यारा चुनौती समाधान गर्न हामी सक्रिय रहन्छौं।”
स्थानीय बासिन्दाहरुले यस सामूहिक प्रयासको प्रशंसा गर्दै यातायात सहज भएपछि खुशी व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्