२०८२ कात्तिक १२ , बुधबार

गुर्भाकोट–६ भुत्याचौरदेखि सानो नक्कलेसम्म सडक सरसफाइ



  • सुर्खेत, भदौ १३ । गुर्भाकोट नगरपालिका–६ भुत्याचौरदेखि सानो नक्कलेसम्मको सडक शुक्रबार स्थानीयवासीहरूले आफैं जुटेर सरसफाइ तथा मर्मत गरेका छन् ।

कर्णाली रिपोर्टर्स प्रालिका स्थानीय रिपोर्टर तथा समाजसेवी दिनेश सुनारको नेतृत्वमा आयोजित कार्यक्रममा दिनभर ३५–४० जना स्थानीयले झाडी फडानी, ढुंगा बोकेर खाल्डाखुल्डी पुर्‍ने, माटो फिलिङ गर्ने तथा पानीले बिगारेका भाग कटिङ गरी बाटो सम्याउने काम गरेका हुन् । यस कार्यले गर्दा अब सो बाटो हुँदै अटो, मोटरसाइकल तथा एम्बुलेन्सजस्ता सवारीसाधन सहजै गाउँसम्म पुग्ने भएका छन् ।

स्थानिय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आफैं जुट्नुपरेको समाजसेवी सुनारले बताए । उनका अनुसार वडामा ४/५ जना पिटौली नियुक्त भए पनि उनीहरूले काम नगरी तलब मात्र खाने गरेको आरोप समेत छ । उनले पिटौलीको नाममा आफ्ना मान्छे राखी बजेट दुरुपयोग भइरहेको दाबी पनि गरे ।

“सबेै काम यसरी स्थानीयले आफैं गर्नुपर्ने हो भने बजेट किन कहाँ खर्च हुन्छ ?” अर्का एक स्थानीयले प्रश्न उठाउँदै भने, “नगरपालिकासँग जेसिबी भए पनि हाम्रो समस्या समाधानमा उपेक्षा गरियो । दशैं–तिहार नजिकिँदै गर्दा खेतबाली पाक्ने बेला छ, यस्तोमा बाटो नभएर समस्यामा पर्न सक्ने भएकाले हामी आफैं जुटेका हौं ।”

स्थानियवासीको सामूहिक पहलपछि सडक सञ्चालन योग्य बनेको छ भने उनीहरूले यसलाई अस्थायी समाधान मात्रै भन्दै स्थायी सुधारका लागि स्थानीय सरकारलाई तत्काल ध्यान दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार