२०८२ कात्तिक १२ , बुधबार

गुर्भाकोट–७ कोप्ची स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले सार्वजनिक गरेको वार्षिक कार्यतालिका



सुर्खेत । गुर्भाकोट नगरपालिका–७, कोप्चि स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले आगामी वर्षभरि सञ्चालन हुने स्वास्थ्य सेवा गतिविधिहरूको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । नगर स्वास्थ्य शाखाले सार्वजनिक गरेको तालिका अनुसार नियमित स्वास्थ्य सेवा, विशेष कार्यक्रम र स्थानीयस्तरका जनचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुनेछन् ।

प्रकाशित तालिकाअनुसार शनिबार सार्वजनिक बिदा रहनेछ भने अन्य दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नियमित स्वास्थ्य सेवा सञ्चालन हुनेछ । स्वास्थ्य केन्द्रले मातृ तथा शिशु स्वास्थ्य परीक्षण (ANC/PNC), परिवार नियोजन सेवा, खोप कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा, राष्ट्रिय दिवसका अवसरमा विशेष कार्यक्रम, र मासिक सरसफाइ तथा पोषणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै, प्रत्येक महिनाको निश्चित दिनमा गाउँघर पुग्ने “घर–घरमा स्वास्थ्य सेवा” कार्यक्रम सञ्चालन हुनेछ । स्वास्थ्य आमासमूह बैठक, विद्यालयस्तरीय स्वास्थ्य शिक्षा कार्यक्रम, व्यवस्थापन समिति बैठक, विजय दशमी तथा तिहार बिदा जस्ता विशेष दिनलाई समेत कार्यतालिकामा समावेश गरिएको छ ।

स्वास्थ्य सेवा केन्द्रका इञ्चार्ज श्री शेरबहादुर खत्रीका अनुसार यो कार्यतालिकाले वर्षभरि हुने सम्पूर्ण स्वास्थ्य गतिविधिलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नेछ । “स्थानीयलाई कुन दिन कुन सेवा उपलब्ध हुन्छ भन्ने स्पष्ट जानकारी मिल्ने भएकाले सेवा लिन सजिलो हुने अपेक्षा छ,” उनले बताए ।

नगरपालिकाले स्वास्थ्य सेवामार्फत जनताको स्वास्थ्य सुधार गर्दै जाने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १८ गते बुधबार