सुर्खेत, २०८२ भदौ १९ गते ।
सुर्खेतमा सामाजिक सञ्जालमार्फत सम्पर्क गरी नक्कली आमा–बुवा र छोरी बनेर फरक–फरक पुरुषसँग विहे गराई नगद तथा गरगहना ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार फेसबुक लगायतका माध्यममार्फत चिनजान गरी ठगी गर्ने उद्देश्यले योजना तयार पारिएको थियो । सोही योजनाअनुसार एउटै महिलालाई फरक–फरक समयमा विभिन्न पुरुषसँग विवाह गराई, विवाह पश्चात बेहुलीले नगद र गरगहना लिएर वेपत्ता हुने गरेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा घटनामा संलग्न भएको पुष्टि भएपछि प्रहरीले भदौ १७ गते सुर्खेत वीरेन्द्रनगर–१० बसपार्क क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये जिल्ला दैलेख, साढु गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपाल कुमार विक (होटल सदाशंकरका सञ्चालक) र अछाम तुर्माखाद गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन् ।
प्रहरीले पक्राउ परेकासँग विवाहमा प्रयोग भएका कपडा, गरगहना र फोटो समेत बरामद गरेको जनाएको छ । पीडितले फरक–फरक समयमा दिएको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
हाल उनीहरूलाई अपराधिक लाभ आर्जन तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजी कार्य पनि अघि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्