अछाम । अछामको ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । बाख्रा चराउन शुक्रबार जंगल गएका उनीहरू शनिबार दिउँसो मृत फेला परेका हुन् । वडा नम्बर ८ का पूर्ववडाध्यक्ष लाल बहादुर भण्डारीका अनुसार १४ वर्षकी ईश्वरी खड्का र १५ वर्षकी सरस्वती खड्का जंगलमा मृत भेटिएका हुन् ।
उनीहरूको शव करिब १६ मिटरको दूरीको फरकमा फेला परेको हो । उनीहरू दुवैको शव रिमारह नजिकको छिर्ने ओडार नजिक फेला भण्डारीले बताए । उनीहरू कमल बजार नगरपालिका-१० मा रहेको विद्याज्योति माविमा कक्षा ८ अध्ययनरत थिए । मृत भेटिएका दुवै किशोरीको शरीरमा चोटपटकको निशाना देखिएको भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले आफू अहिले घटनास्थलमा रहेको बताए । ‘शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठूलो भीर छ । त्यहाँबाट खसेको हुनसक्ने प्रारम्भिक बुझाइ पनि छ’, डीएसपी भण्डारीले भने, ‘तर अहिले केही भन्न सकिने अवस्था छैन । हामीले कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान शुरू गरिसकेका छौं ।’


प्रतिक्रिया दिनुहोस्