२०८२ माघ १९ , सोमबार

सौराहा घुम्न आउन कर्णालीलाई निम्तो



सुर्खेत । चितवनका पर्यटन व्यवसायी घुमौँ सौराहा अभियान २०८२ लिएर कर्णाली पुगेका छन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहालाई ब्रान्डिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले सुरु भएको घुमौँ सौराहा चितवन अभियानमा निम्तो दिन पर्यटन व्यवसायीहरू कर्णाली पुगेका हुन् ।

चितवनको रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ सौराहाको अगुवाइमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा पश्चिम नेपालका प्रमुख पर्यटकीय शहरहरूमा घुमौँ सौराहाको विशेषता प्रस्तुत गरी पर्यटकलाई निमन्त्रणा दिन अभियान कर्णाली पुगेको हो । यसले दुवै प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डले बताए ।

अभियानबारे जानकारी दिन आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले सौराहामा हात्ती चढेर गैँडा अवलोकन गर्न पाइने भएकाले नेपाल भित्रिएका अधिकांश विदेशी पर्यटकको उत्कृष्ट गन्तव्य सौराहा भएको बताए । समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँको पर्यटन विकासको मुख्य चुनौती पूर्वाधार भएको उल्लेख गर्दै चितवनसँग कर्णालीको पर्यटनलाई निजीक्षेत्रले जोडेर लैजानुपर्ने धारणा राखे ।

कर्णालीमा अद्भूत प्राकृतिक सम्पदा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले यहाँका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा रहेको बताए । सौराहासम्म आउने पर्यटकलाई कर्णाली पुर्याउने गरी संस्थागत सम्बन्ध स्थापित गर्न पनि मुख्यमन्त्री कँडेलले सुझाव दिए । उनले पर्यटन व्यवसायीहरुलाई कर्णालीमा व्यवसाय विस्तार गर्न आग्रह समेत गरे ।

कर्णालीमा आउने लगानीकर्तालाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष पाण्डले सौराहा पर्यापर्यटन र साँस्कृतिक हिसाबले आकर्षक गन्तव्य रहेको बताउँदै अध्यक्ष पाण्डेले सौराहा घुम्नका लागि कर्णालीवासीलाई आग्रह गरे ।

उनले कर्णाली प्रदेशमा पनि पर्यटन अपार सम्भावना रहेको चर्चा गर्दै सौराहा र कर्णालीलाई जोड्ने योजना बनाउने प्रतिबद्धता जनाए । यस्तै उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेशले पनि यस्तै विभिन्न अभियान सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार